मेचीनगर । चाडपर्व नजिकिएको समयमा सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका लागि नेपाल प्रहरीले बुधबारदेखि तालिम प्राप्त कुकुरको प्रयोग गर्न थालेको छ ।

लागूऔषध र विस्फोटक पदार्थ सीमामै नियन्त्रण गर्ने उद्देश्यले पूर्वी नाकामा तालिम प्राप्त कुकुरले अप्रेसन सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुईवटा तालिमप्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताए ।

उनका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले बिष्फोटक पदार्थ सुँघेरै थाहा पाउने तालिम पाएको बताइएको छ ।

अर्को कुकुरको नाम ‘पिंकु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र यातायातको साधनमा लुकाएर ल्याएको लागू औषध सुँघेर पत्ता लगाउँछ । ती कुकुरलाई परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् ।

भारतको पश्चिम बंगाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागालेन्ड लगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भूटान, बंगलादेश र म्यान्मार जाने पर्यटकले समेत यहीँ नाका प्रयोग गर्दछन् ।

प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुबै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताए । 

“चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीँ बेला लागू औषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाईछिपाई भित्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तामिमप्राप्त कुकुरको प्रयोग गरेका हौं,” उनले भने–“लागू औषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रीत गरेता पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन । कुकुरले सवारी साधन र शरीरमा लुकाएर ल्याएको लागू औषध पनि सुँघेर थाहा पाउने भएकाले चेकजाँच कार्य अझ प्रभावकारी हुने आशा गरेका छौं ।”