काठमाडौं। संयुक्त राष्ट्रसंघका एक प्रवक्ताका अनुसार इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा रहेका प्यालेस्टिनीहरुलाई २४ घण्टाभित्र उक्त क्षेत्र छाड्न चेतावनी दिएको छ ।

इजरायलको यस्तो कदमले करिब ११ लाख नागरिक प्रभावित हुने संयुक्त राष्ट्रसंघको अनुमान छ । यो संख्या गाजामा रहँदै आएका नागरिकमध्ये करिब आधा हिस्सा हो ।

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले स्थानीय समयअनुसार बिहीबार राति ११ बजे त्यस्तो चेतावनी दिएको हो ।  

गत शनिबार प्यालेस्टिनी विद्रोही समूह ‘हमास’ ले इजरायमाथि आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ ।

पछिल्ला दिन इजरायलले गाजासँग सीमा जोडिएको क्षेत्रमा ट्याङ्क, गोलाबारुद तथा सैन्य उपकरण जम्मा गर्न थालेको छ । इजरायलले गाजा क्षेत्रमा चाँडै नै स्थल कारबाही अघि बढाउने आशंकाका बिच २४ घण्टे अल्टिमेटम सार्वजनिक भएको हो ।

संयुक्त राष्ट्रसंघले भने इजरायलको यस्तो चेतावनीको आलोचना गरेको छ । ‘यस प्रकारको आदेश दिइएको हो भने तत्काल फिर्ता लिइनुपर्दछ, यस्तो कदमले हालको त्रासदीलाई अझ विकराल बनाउँछ,’ राष्ट्रसंघले भनेको छ ।