विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार सोचेभन्दा बढी बिश्वासको मत पाएका छन् । उनले प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाएको हुन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए ।

उनको विपक्षमा राप्रपा मात्रै उभिएको छ । राप्रपाका ६ मध्ये पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित रहे । विश्वासको मत पाएसँगै कांग्रेसभित्र कार्कीले गरेको विद्रोहको अनुमोदन भएको छ ।

९३ जना सभाषद्न रहेको कोशी प्रदेशमा ९१ जना सहभागीमध्ये ८६ जनाले समर्थन गर्दै बिश्वासको मत दिएका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सारेको थियो ।

तर कांंग्रेसको डा. शेखर कोइराला समूहका ८ जना सांसद लिएर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हस्ताक्षर सनाखत गरेपछि शनिबार प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेशसभामा विश्वासको मत माग्दा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मुख्यमन्त्री बन्न उनलाई समर्थन गर्ने दल एमालेबाट विश्वासको मत पाए ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा पार्टीले निर्णय गरेर कार्कीलाई विश्वासको मत दिएपछि विद्रोहको च्याप्टर क्लोज भएको बताउँछन् ।