विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पत्रकार सन्तोष न्यौपाने र सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई पुरस्कृत गरेको छ ।

पत्रकार न्यौपानेलाई नगद २५ हजार र प्रधानाङलाई  एक लाख एक हजार नगदसहित खादा-दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मान गरेका थिए । 

पुरस्कृत पत्रकार न्यौपाने एभिन्यूज टेलिभिजनका झापा सम्बाददाता र साझा अनलाइनका सम्पादक हुन् । भक्तपुर निवासी प्रधानांगले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

सहाराको २७ औँ वार्षिक साधारण सभामा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले यसवर्षको नाफा ३९ करोड ८६ लाख रहेको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उनले संस्थाको सदस्य संख्या एक लाख ५७ हजार ६०६ जना पुगेको बताए । उनले कोशी प्रदेशको ११ वटा जिल्लाका ८० वटा पालिकामा संस्थाको कार्य क्षेत्र रहेको बताए ।

कार्यक्रममा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले शेयर पूँजी एक अर्ब ६३ करोड १४ लाख, जगेडाकोष १ अर्व २३ करोड, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व २० करोड ५५ लाख, भौतिक सम्पत्ति ५० करोड ७५ लाख र बाह्य ऋण तिरिसकेको छ भने वासलात १५ अर्व ४८ करोड २९ लाख पुगेको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

संस्थाले यस आवभित्र १० वटा सेवा केन्द्र थप गरी ९० वटा सेवा केन्द्र पुर्याउने लक्ष्य लिएको छ । २ लाख शेयर सदस्य र १९ अर्वको वासलात बनाउँने गिरीको दावी छ । उनले आगामी वर्ष ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेका छन् ।

कार्यक्रममा नेस्फुनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहारा नेपाल साकोसका अध्यक्ष हरि राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।