झापा । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको छ । सरकारको निर्देशनअनुसार नभएका मोबाइल सोमबार आज राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ । सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन् । क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने छ ।
पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेको छ । ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन । एमडिएमएस प्रणालीमा ब्लक भएको सेट खुलाउन सकिने व्यवस्था छ । तर, खुलाउने वा नखुलाउने विषयमा सरकारको निर्णयअनुसार हुने छ । यस्ता सेट भन्सार शुल्क बुझाएर नियमसंगत दर्ता भएर आएमा पुनः खुल्नेछ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालकाअनुसार सोमबार रातिबाट एमडीएमएसमा दर्ता नभएका प्रिमियम स्मार्टफोनहरु नेपाली भूमिमा चल्ने छैनन्। पहिलो चरणमा प्राधिकरणले एक लाख रुपैयाँभन्दा माथिका स्मार्टफोनमा नेटवर्क लकिङ गर्दैछ।
प्राधिकरणले कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएस प्रणालीमा मोबाइल ह्यान्डसेट दर्ता गर्न सूचित गरेको थियो। अन्यथा ती फोनहरुमा दूरसंचार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको थियो। समयसीमा सकिएसँगै प्राधिकरणले सोमबारबाट अवैध फोनहरुमा नेटवर्क लकिङ गर्ने भएको हो।
गएको पुस १५ गतेदेखि विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा २०७९ भदौभन्दा अघि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ डिजिटको आइएमईआई नम्बरसहित) भन्सार घोषणा गरी भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्ने तयारी गरेको थियो।
नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल सेट पुस १५ गतेदेखि दर्ता नगर्ने र ती सेट सञ्चालनमा समेत रोक लगाउने प्राधिकरणको योजना थियो। तर, प्रधानमन्त्रीको निर्देशनपछि नै प्राधिकरणले पुस १५ गतेबाट पूर्ण लागु गर्ने एमडीएमएस कार्यान्वयन तत्काललाई स्थगित गरेको थियो।
त्यसपछि प्राधिकरणले गत जेठ १ गतेदेखि एमडीएमएस लागू गरेको थियो। १५ अर्ब रुपैयाँ भन्सार नतिरेका फोनहरु अहिले पनि अनधिकृत बिक्री वितरण भइरहेको व्यवसायीहरूको भनाइ छ। यसबाट सरकारले वार्षिक ३ देखि ४ अर्ब बराबरको राजस्व गुमाइहेको बताइएको छ।























































