मेचीनगर। पश्चिम रुकुम र जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भुकम्पका पीडितका लागि झापाको मेचीनगर `मेची अभियान´ले राहत संकलन गर्ने भएको छ ।
मेची उद्योग वाणिज्य संघको सभा हलमा बसेको बैठकले नगरका प्रमुख राजनीतिक दलहरुको मेची अभियानमार्फत एकद्वार प्रणालीबाट राहत संकलन गरी नेपाल सरकारको माध्यमबाटै राहत पुर्याइने निर्णय गरेको हो ।
बैठकमा मेची अभियानमार्फत राहत संकलन गर्दा उपयुक्त हुने दलका नेताहरुले साझा धारणा राखेका थिए । राहत संकलनका लागि मेची उद्योग वाणिज्य संघको विपत राहत कोषको बैंक खाता प्रयोगमा ल्याइने र सबै संकलित रकम सोही खातामा जम्मा गरिने मेची अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए ।
अभियानमा सबैको सहभागिता जुटाउन सोमबार दिउँसो सामाजिक संघ-संस्थाका नेतृत्वहरुसँग छलफल गरिने उनले बताए । बैठकमा नेपाली कांग्रेसका झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष प्रकाश भण्डारी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव विशालकृष्ण बाँस्तोला, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समितिका अध्यक्ष भोला थापा लगायतले धारणा राखेका थिए ।
सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने र राहत संकलन जथाभावी नगर्ने निर्देशन जारी गरेको हुँदा सरकारको उक्त निर्देशनलाई पालना गरिने बैठकका सहभागीहरुले बताएका थिए ।























































