पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कागजपत्र नियन्त्रणमा लिएको छ । कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो।

‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेको लगायत विषयमा आवश्यक छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो,’अख्तियार स्रोतले भन्यो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको लागत बढाउन सहयोग गरेको, विमानस्थल निर्माण कार्य गुणस्तरहीन भएको, आयोजना निर्माणका लागि निर्माण कम्पनीसँग मिलेमतो गरेको भन्दै आयोगमा थुप्रै उजुरी परेका थिए। उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले दसैंलगत्तै कात्तिक १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो। अख्तियारमा धेरैवटा उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

स्रोतका अनुसार आयोजनामा काम गर्ने केही कर्मचारीका बैंक खाता पनि रोक्का राखेको छ, यद्यपि कोको कर्मचारी छन् भन्नेबारे केही खुलाइएको छैन। 

सुरुमा १२ अर्ब रूपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत पछि बढाइएको थियो। त्यतिबेला विमानस्थल आयोजना प्रमुख हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेको प्रदीप अधिकारी थिए। अधिकारीले नै १२ अर्बबाट लागत बढाएको स्रोतले जनाएको छ। चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठवटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि हालसम्म एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

एक्जिम बैंकको २२ अर्ब रूपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदानान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी परेको अख्तियारमा परेको थियो।

तत्कालीन आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए। सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि उनैले मिलाएको स्रोतको दाबी छ। सरकारले एक्जिम बैंकबाट लिएको सहुलियत ऋण प्राधिकरणले सरकारबाट ५ प्रतिशत ब्याज दरमा लिएको थियो। चीनबाट २ प्रतिशत ब्याजदरमा २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र नागरिक उड्डयन प्राधिकरणबीच २०७३ जेठ २३ मा सम्झौता भएको थियो। सरकारले प्राप्त गरेको सो ऋण नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेर निर्माण सम्पन्न भएपछि सात वर्षसम्म २ प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ। सात वर्षपछि भने १३ वर्षमा २६ किस्ता गरेर साँवा चुुक्ता गर्ने सम्झौतामा उल्लेख छ। त्यति धेरै खर्च गरेर विमानस्थल निर्माण गर्दा नै भ्रष्टाचार भएको सो उजुरीमा उल्लेख छ।

गत पुसमै निर्माण सम्पन्न भई प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य उद्घाटन गरेका थिए। उद्घाटनपछि भुटानबाट गत भदौमा एउटा विमान आएको थियो। भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यावसायिक उडान भरेको थियो। भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आएको सो विमानले नेपालबाट ४२ जना लिएर फर्केको थियो। त्यसअघि चिनियाँ सिचुवान एयरलाइन्सले चार्टड उडान गरेको थियो। 

 श्रोत : नागरिक दैनिक