झापा । हात्तीको उपद्रो र पीडा खेप्दै आएका झापाको बाहुनडाँगीका  हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर-४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा ९५ मात्र बीमा शुल्क लागेको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा- ४ बाट बीमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये ६ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

“कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँ”, उनले भने, “तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । 

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताए।

हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको रु पाँच लाखको जीवन बीमा गरिएको उनले जानकारी दिए । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाको उक्त समूहलाई परिचालन गर्न थालिएको हो ।