मेचीनगर । झापाको धुलाबारीस्थित छठ पूजा समितिले निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । समितिले शनिबार धुलाबारीस्थित रामघाटको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएको हो ।
धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलामा यसवर्षको छठ पूजाका लागि तीनसय बढी पुजा स्थानका लागि (टेण्ट) बनाएर त्यसमा चाहिने सम्पूर्ण सामानको तयारी पुरा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले भक्तजनले शान्तिपूर्ण तरिकाले पटका नपड्काइ छठ पर्व मनाउन आग्रह गरेका थिए । मधेशी समुदाय मात्र मनाउदै आएको यो पर्वमा यसपटक पहाडी समुदायको पनि पूजामा सहभागिता रहने साहले बताए । उनका अनुसार करिव २० वटा घाटमा पहाडी समुदायले पूजा गर्ने बताए ।
पुजाका लागि सुरक्षाका व्यवस्था समेत कडा पारिएको आयोजकले जनाएको छ । समितिका पूर्व अध्यक्ष एवम् रामघाट समितिका समेत अध्यक्ष रहेका गोपाल गुप्ताले छठ पूजामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र नगर प्रहरीलाई समेत खटाउने गरि मेयर र सुरक्षा प्रमुखहरुलाई जानकारी गराइएको बताए । बाणिज्य संघ र हेल्थपोष्ट कार्यालयलाई समेत एम्बुलेन्स तयारी अवस्थामा राख्न जानकारी गराइएको उनको भनाई छ ।
यहि मंसिर १ गतेदेखि सुरु उक्त छठ पूजा ४ गते समापन हुनेछ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्ग र मंसिर ४ गते पारन पूजा गरेर समापन गरिने समितिका सचिव जितेन्द्रकुमार गुप्ताले बताए । पूजा सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सहसचिव अरुणकुमार साहले जानकारी दिए ।























































