कैलाली । उपचारको क्रममा बालकको मृत्यु भएपछि कैलालीमा दुई मेडिकल सञ्चालक पक्राउ परेका छन् ।
बिहीबार गोदावरी नगरपालिका-५ गेटामा रहेको डिलासैनी क्लिनिक पुगेका सोही ठाउँका चार वर्षीय सम्राट ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
ऐरलाई ज्वरो आएपछि मेडिकल क्लिनिकमा लगिएको थियो । ज्वरोले थला परेका उनलाई क्लिनिक सञ्चालक नविन धामीले सुईं लगाएलगत्तै मृत्यु भएको परिवारको दाबी छ। यस घटनापछि प्रहरीले सञ्चालकद्वय दिनेश धामी र नविन धामीलाई पक्राउ गरेको डिएसपी चन्दले बताए।
सुईं लगाएपछि ऐर बेहोश भएका थिए। त्यसपछि सञ्चालक नविनले नै स्कुटरमा राखेर माया मेट्रो अस्पताल पुर्याएका थिए। तर अस्पताल पुर्याउनुअघि नै बालकको मृत्यु भइसकेको जनाइएको छ।























































