झापा । झापाको सीमावर्ती मेची नदीसहित विभिन्न नदी तथा खोला किनारमा आज मनाइने छठ पूजाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिने भएको छ । मेची नदीलाई लक्षित गरी १०५ जना सशस्त्र, ७५ जना नेपाल प्रहरी र ९ जना ट्राफिक प्रहरी खटाइँदैछ ।
त्यस्तै, कनकाईको विरिङ नदीमा ५५ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १३ जना ट्राफिक प्रहरी खटाइँदैछ । निन्दा नदीमा ४९ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ । त्यसैगरी दमकको रतुवा नदीमा ४० जना सशस्त्र, ५० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ ।
जिल्लाको ४९ स्थानमा छठ पूजा मनाएपनि मेची, निन्दा, विरिङ र रतुवा नदीको किनारमा भक्तजनहरुको बढी भीडभाड हुने भएकोले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छठ पूजामा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनले बताए ।
साथै राजमार्गहरुमा पनि प्रहरीको मोबाइल गस्ती टोली छुट्टै परिचालन गरिने उनको भनाई छ । छठ पूजा स्थलहरुमा हुने सवारी साधनको जामलाई मध्यनजर गरी भद्रपुरको मेची पुल, रतुवा पुल, निन्दा पुल, कनकाईको विरिङ पुल, अर्जुनधाराको विरिङ पुललाई लक्षित गरी ट्राफिक प्रहरी खटाइएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।























































