बिर्तामोड । हरियो तरकारीमा प्रयोग गरिने विषादीको न्यूनीकरणलगायतका बिषयमा शनिबार बिर्तामोडस्थित कृषि बजार छलफल भएको छ ।
कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले कृषक, व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा राखेर समसामयिक विषयमा छलफल गराएको हो । कृषि वस्तुको बजारीकरण, सागसब्जीमा विषादीको न्यूनीकरण, ग्रेडिङ तथा प्याकेजिङका विषयमा समितिले एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी छलफल गराएको हो ।
फलफूल तथा ताजा तरकारीमा विषादी प्रयोगका समस्या र बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने वा समाधानका उपायहरू, ताजा तरकारी तथा फलफूलको ग्रेडिङ, प्याकेजिङ तथा लेभलिङको वर्तमान समस्या, त्यसका कमी कमजोरी सुधार गर्नुपर्ने समाधानका उपायहरू, उत्पादक किसानले कृषि उपजको उचित मूल्य नपाएको गुनासो, समाधानका उपायहरू, कृषि बजारका समस्याहरू ,समाधानका उपायहरू , कृषि उपज उत्पादकले उचित मूल्य नपाउने कारण र समस्याहरू तथा ती समस्याको समाधानका उपायहरूका बारेमा छलफल गरिएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए ।
कृषि अर्थविज्ञ शालिकराम भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको क्षेत्रभित्र परेको जिल्लाका ८ पालिकाका कृषक , कृषि बजारका व्यवसायी र उपभोक्ताका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले उत्पादन वृद्धिका लागि प्रयोग गरिने विषादीको नियमन गर्न ल्याबको सुदृढीकरणमा जोड दिए । उनले कृषि बजारमा निर्मित कोल्ड स्टोरलाई बढीभन्दा बढी सदुपयोग गरिनुपर्ने बताए ।
समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का कार्यवाहक वडाध्यक्ष दुर्गा शिवाकोटी , राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, उपभोक्ता हित संरक्षण मञ्च बिर्तामोडका अध्यक्ष ओमभक्त सेढाई, विषादी परीक्षण प्रयोगशालाकी कर्मचारी रचना कार्कीलगायतको उपस्थिति रहेको थियो । समितिकी सदस्य बिन्दा लुइँटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक सीताराम नेपालले गरेका थिए ।

















































