बिर्तामोड । `स्वीकारोक्ति फाउण्डेसन´ले ११ औं वार्षिकोत्सवकाे अवसरमा विश्व शान्ति यात्रा सुरु गरेको छ ।  घर, समाज र राष्ट्र-राष्ट्रबीचमा देखिएको द्वन्दलाई खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अभियान सुरु गरेको हो ।

फाउण्डेसन भारतको सिक्किममा ११ वर्षअघि स्थापना भएको संस्था हो । नेपालबाट विश्वभरका नेपालीभाषीमा मानव चेतना र पर्यावरण जोगाउने प्रयासस्वरुप स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ सुरु गरेको फाउण्डेसनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिए ।
अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर सुरु गरिएको विश्व अभियान अन्तरगत सन् २०२३ मा नेपाल र भारतका  विभिन्न स्थानहरूमा स्वीकारोक्ति दर्शन सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको छ । त्यसैगरी सन् २०२४ मा अमेरिका र क्यानेडा हुँदै सन् २०२५ सम्ममा एसियाका १० वटा मुलुकमा न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धि गर्दै अभियानको यात्रा गर्ने योजना रहेको अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कर्ण गुरुङले जानकारी दिए ।
झापा, मोरङ, सुनसरी, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको दार्जिलिङ कालेम्बुङ हुँदै सिक्किमको ग्यान्टोकमा र डिसेम्बर ३० तारिक आसामको गुहाटीमा विशेष मानव चेतनामुलक कार्यक्रम गर्ने जनाइएको छ । यात्रा सँगसँगै हुने कार्यक्रमहरू मध्ये नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिने जनाइएको छ । उक्त पुरस्कारको राशी ६ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

अभियानअन्तर्गत सोमबार झापाको दमक बेलडाँगी शिविरमा अन्तरक्रिया कार्यक्रम गरेर अभियानको शुभारम्भ भएको छ ।  आगामी मंसिर १४ गते बिर्तामोडस्थित विर्तापार्टी प्यालेसमा वृहत्त साहित्यिक तथा सम्मान कार्यक्रम गरिने अभियान झापाका ग्लोबल टुरका कोअडिनेटर अर्जुन उप्रेतीले जानकारी दिए । दुई चरणमा कार्यक्रमअनुसार पहिलो चरणमा झापाका ५० वटा विद्यालयका ३ सय जना विद्यार्थीबीच अन्तरक्रिया गरिने छ ।
दोस्रो चरणमा साहित्य र संगीत विधाको कार्यक्रम गर्ने तयारीमा रहेको उप्रेतीको भनाई छ । काठमाडौँमा आगामी  मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुईदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने  जनाएको छ ।  उक्त  साहित्य तथा युवा शैक्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्य रहने छ । पत्रकार सम्मेलनको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।