झापा । नेपाली कांग्रेस झापाका पूर्बसभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ ।
मुटु तथा श्वासप्रश्वासमा समस्या भएपछि बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा शर्माको सोमबार दिउँसो ८८ वर्षको उमेरमा निधन भएको हो । कमल गाउँपालिका-५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनायता दमकको निम्स अस्पतालपछि विर्तासिटीमा भर्ना गरिएको थियो । शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए ।
२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका शर्माको बिर्तासिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरिदिएको थियो ।
शर्माको निधनमा नेपाली काङ्ग्रेस पार्टीले तीन दिनसम्म शोक मनाउने भएको छ । स्व. निधन प्रति दुःख व्यक्त गर्दै भोलि मंसिर १२ गते कांग्रेस झापाको जिल्ला पार्टी कार्यालय बन्द गर्ने र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताए ।
दमक बहुमुखी क्याम्पसका संस्थापक सञ्चालक समिति सदस्य तथा पूर्वअध्यक्ष शर्माको निधनमा भोलि मंगलवार शोक विदा दिएको छ । क्याम्पसले आज शोक वक्तत्व निकालेर यस क्याम्पसका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य स्व. शर्माको असमायिक निधन भएकोमा दुख प्रकट गर्दै भोलि एक दिनका लागि क्याम्पसको नियमित पठनपाठन बन्द हुने उल्लेख छ ।





















































