झापा । नेपालको पूर्वको सीमा क्षेत्रमा रहेका नेपाल-भारतको स्तम्भ मर्मतसहित रंगरोगनको काम सोमबारदेखि सुरु भएको छ । झापामा साना, मझौला र ठुला गरी ३ सय १७ सीमा पिलरको मर्मत सम्भार र रंगरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ पीलरको मर्मत सम्भार र रंगरोगन गरिने जनाइएको छ । 

सीमा पिलर मर्मत सम्भार र रंगरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक दीपक भारती, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । 

नेपाल तथा भारतका सुरक्षा संयन्त्रको संयुक्त उपस्थितिमा झापाको मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखहरूले मेचीनगर नगरपालिका वडा नम्बर–७ स्थित सीमा स्तम्भको मर्मतसहित रंगरोगनको काम सुरु गरिएको हो । 

सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डिआईजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक नेपाल र भारतको सीमाना छुट्याउने सीमा स्तम्भको मर्मत सम्हारसँगै रंगरोगन थालनी गरिएको जानकारी दिए । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राईलगायतको उपस्थिति थियो ।