मेचीनगर। प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले लोकतन्त्रमा राजसंस्था ल्याउछु भन्नु डाक्टरको अगाडी धामीको चर्चा गर्नुजस्तै भएको बताएका छन् ।IMG_20231209_205650झापाको मेचीनगर–७, ईटाभट्टास्थित मेची कृषक वहुमुखी सहकारी संस्था (एमएमसी) को २४ औँ वार्षिक साधारण सभा (माइन्युट प्रमाणिकरण) कार्यक्रममा सांसद शर्माले यस्तो कुरा बताएका हुन् ।

लोकतन्त्रमा राजसंस्थाको नाउँमा जुलुस गर्नु भनेको डाक्टरले बिरामीको राम्रो उपचार नगरेर धामी खोज्नु जस्तै मात्र भएको बताएका हुन् ।

‘लोकतन्त्र, गणतन्त्रका डाक्टरले बिरामीको राम्रो उपचार गरेन भनेर धामी खोज्नु हुँदैन । डाक्टरले बिरामीको राम्रो उपचार गर्नुपर्छ’, उनले भने ।

उनका अनुसार नेपाल कृषि प्रधान देश भएपनि हरेक वस्तु भारतबाट आयात गर्नुपर्ने विडम्बना छ । भारतमा चामल, दाल लगायतका वस्तुहरुको अभाव भइ यता पनि समस्या पर्ने भएकोले छिमेकी मुलुकहरुसँग द्वन्द्व बढाउन ठिक नहुँने उनको जोड थियो ।

‘सहकारी भनेको सबैको सहकार्यमा चल्ने संस्था हो । पार्टी भन्दामाथि उठेर संस्थालाई बचाउनुपर्छ । सहकारी धनको मात्र होइन, मनको पनि सहकारी बनाउनु पर्छ,’ उनले भने ।

कार्यक्रमका विशिष्ठ अतिथि कृषि तथा पशु पंक्षी मन्त्रालयका पूर्व सचिव डा.योगेन्द्रकुमार कार्कीले सांसद शर्माप्रति इङ्गीत गर्दै यो क्षेत्रका जनताले देश हाक्न सक्ने असल युवा व्यक्ति पाएकाले भावी प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका थिए । उनले कृषि व्यवसायलाई सुधार गर्न नसके देश र जनताको उन्नति नहुँने ठोकुवा गरे ।

कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल तामाङले अहिले लोकतन्त्र व्यवस्थाप्रति कडा प्रहार भइरहेको बताए । उनले अब बोलेर होइन चुनावमा गरिएका प्रतिवद्वता पुरा गर्न लाग्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नीति निर्माण गर्दा फाइवस्टार होटलमा बसेर भन्दा भुँई टेकेर नीति निर्माण गरेनौँ भने उन्नतिको बाटो व्यवस्थित गर्न नसक्ने बताए । भुँई बुझेर नीति निर्माण गर्न उनको सुझाव थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेती, मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, ८ का वडाध्यक्ष गिरीराज धमला, नकलबन्द बतच तथा ऋण सहकारी संस्थाका अध्यक्ष हामेराज गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार पौडेलसहित दुई दर्जन सम्मानित

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार प्रकाश पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उनलाई नगद दुई हजार १ सयसहित सम्मान गरिएको थियो ।

त्यस्तै निर्माण व्यवसायी नयन बराल, मेचीनगर नगरपालिकाका ईन्जिनियर जीवन भट्टराई, सबईन्जिनियर कमल शर्मा, डिगबहादुर पौडेल पुरस्कार श्याम दाहाल, स्व. नारदमणि ढकाल स्मृति पुरस्कार कर्मचारी प्रभाव भण्डारी लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट कृषक कृष्ण पौडेल, तुलसा वस्नेत, उत्कृष्ट बचतकर्ता छविलाल अधिकारी, शमशेरबहादुर थापा, निर्मला अधिकारी, लक्ष्मी मेचे, उत्कृष्ट ऋणितर्फ तेजविर विश्वकर्मा, विष्णु भट्टराई, सुष्मा लिम्बु, बालबचततर्फ तेजस्वी खनाल, डिगबहादुर खत्री लगायत दुई दर्जनबढीलाई नगदसहित सम्मान गरिएको थियो ।

खाध्य गोदाम उद्घाटन

संस्थाद्वारा सञ्चालित सामुदायिक पोष्ट हार्भेष्टको दक्षिण परिसरमा १ हजार मेट्रिक टन क्षमताको करिव २ करोड ३० लाख बराबरको खाध्य गोदाम घर, कम्पाउण्ड वाल र गार्ड घर निर्माण गरिएको छ । सो खाध्य गोदामको आजै सांसद शर्माले उद्घाटन गरेका थिए ।

नेपाल सरकारको ५० प्रतिशत, स्थानीय सरकार र संस्थाको २५-२५ प्रतिशत लगानीमा सो गोदाम घर निर्माण गरिएको अध्यक्ष हरिबहादुर बुढाथोकीले आफ्नो बार्षिक प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्र मार्फत २५० घर परिवार विज वृद्वि कार्यक्रमबाट उत्पादन गरी लाभान्वित भएको बताइएको छ । केन्द्रबाट उत्पादित गुणस्तरीय चामल सर्वसुलभ रुपमा विक्री वितरण गरिरहेको छ ।

केन्द्रको राइस मिलमा आधुनिक नयाँ उपकरणहरु करिव ३४ लाख बराबरको ५० प्रतिशत अनुदानमा खरिद गरी जडान गरेर चामल उत्पादन सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक समिति सदस्य दुर्गाप्रसाद सापकोटाले र सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।