मेचीनगर। बिवाह दर्ताको प्रतिलिपीको माग गरेको २ वर्षपछि मात्रै प्रतिलिपी पाइएकोप्रति सेवाग्राहीले गुनासो गरेका छन् । प्रतिलिपी दिने बिषयमा सम्बन्धित निकायले ध्यान नदिंदा सेवाग्राहीले गुनासो गरेका हुन् । 
नागरिकलाई प्रतिलिपी उपलब्ध गराउने बिषयलाई लिएर जिल्ला अदालत झापा र मेचीनगरको सामाजिक सुरक्षा शाखाको भनाईं बाझिएको छ ।
प्रतिलिपी फाइलिङ गरिएको ढड्डाको बिषयमाथि मेची नगरपालिका र अदालतको छुट्टाछुट्टै धारणा उल्लेख गरिएको पाइन्छ ।

प्रमाणपत्र हराएपछी झापा मेचीनगर-९ का केशब भट्टराईले २०७८ साल माघ ६ गते बिवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपीको माग गर्दै वडा कार्यालयमा निवेदन गरेका थिए । भट्टराईलाई मेचीनगरबाट बिर्तामोडमा बसाइँसराई जानका लागि  बिवाह दर्ताको प्रतिलिपीको माग गर्दै निवेदन दिएका हुन् ।  प्रतिलिपी माग गरेका भट्टराईले मेचीनगरको सामाजिक सुरक्षा शाखाबाट २२ महिनापछि २०८० मंसिर २४ गते मात्रै प्रतिलिपी पाएका छन्।
संचारकर्मीसमेत रहेका भट्टराईले झण्डै २ वर्षपछी मात्रै पाइने नियम गलत भएको भन्दै प्रक्रिया सच्याउन स्थानीय सरकारसमक्ष माग गरेका छन् ।
आइतबार मेचीनगरको सामाजिक सुरक्षा शाखामा पुगेका भट्टराईंले शाखा प्रमुखसँग प्रतिलिपी दिने बिषयमा भएको ढिलासुस्तीको बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा शाखा प्रमुखले अदालतले बुझेको ढड्डा समयमै फिर्ता नआउँदा सेवा दिन ढिला भएको स्वीकार गरेका थिए ।
मेची नगरपालिका सामाजिक सुरक्षा शाखाले प्रतिलिपी दिन  लामो समय नलाग्ने बताएको छ । अदालतले प्रमाणपत्रका लागि ढड्डा बुझेर समयमै फिर्ता नहुने भएको शाखाले जनाएको छ । शाखाका पञ्जिकरण अपरेटर आयुष्मान निरौलाले प्रतिलिपीकै लागि यतिका लामो समयसम्म नलाग्ने जनाउँदै कुनै प्राबिधिक समस्या भएको स्वीकार गरे । ढड्डामा समस्या छ । अनलाईनमा समस्या छैन निरौलाले भने ।
सम्बन्ध बिच्छेदका लागि अदालती प्रक्रिया अघि बढाउन अदालतले सम्बन्धित नगरपालिकाबाट बिवाह दर्ताको फाइल माग  गरेको जनाएको छ । 
जिल्ला अदालत झापाले प्रमाण पुष्टि गर्न ढड्डा माग गरेपनी इजलाससमक्ष देखाएपछी फिर्ता गर्ने गरेको जनाएको छ । सम्बन्ध बिच्छेदको फैसलाका लागि आवश्यक पर्ने प्रमाणपत्र माग गरेको हुन्छ । फैसला हुँदा प्रतिलिपीमा शंका लागे सक्कल झिंकाउन सकिन्छ । फैसलाको दिन २/३ घण्टा सक्कल प्रमाणपत्रको आवश्यक पर्छ, जिल्ला अदालत झापाका तहसिलदार दाहालले भने, `इजलासमा मगाएको ढड्डा त्यहीँ दिन फिर्ता गर्ने गरेको छ । त्यस्तो समस्या आउने गरी बर्षौ दिनसम्म राख्ने गरेको छैन ।´
तर, सेवाग्राहीले त्यहीँ एउटा कागजको लागि झन्डै २ बर्ष कुर्नु परेको जगजाहेरै छ ।
आगामी दिनमा सेवाग्राहीलाई झन्झटिलो प्रक्रियाक कारण दुख नदिन पत्रकार महासघका उपाध्यक्षसमेत रहेका सेवाग्राही भट्टराईले आग्रह गरेका छन् ।