झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि झापाको दमकमा मंगलबार ढुंगा प्रहार भएको छ ।

कोशी नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचानका पक्षधर समूहले मुख्यमन्त्री कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको हो । 

मुख्यमन्त्रीको सुरक्षाका लागि अगाडी गुडिरहेको गाडी सडकबाट मोडिने बितिक्कै गाडी रोक्ने प्रयास गर्दै ढुंगा प्रहार भएको हो । 

मुख्यमन्त्री कार्की लागूऔषध नियन्त्रणसम्बन्धि कार्यक्रममा सहभागी हुन दमक पुगेका थिए ।

उनलाई सगरमाथा पेट्रोल पम्पअगाडी कालोझण्डा बोकेर बसेका आन्दोलनरत समूहले ढुंगा प्रहार गरेका थिए । ढुंगाले लागेर मुख्यमन्त्री कार्की चढेको गाडीको सिसामा क्षति पुगेको जनाइएको छ । ढुंगा प्रहार भएपछि प्रहरीले उनीहरुलाई त्यहाँ नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, आक्रमणमा संलग्नहरु त्यहाँबाट भागेका थिए ।