झापा । ज्याकेटभित्र ब्राउन सुगर लुकाएर तस्करी गर्ने क्रममा आइतबार झापाको बिर्तामोडबाट  दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१२ कालीझोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम नगरपालिका-१ बस्ने २० वर्षीय दीपक दाहाल रहेका छन् । हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका-१ स्थित पश्चिम बस स्टेन्डमा हाईस गाडीमा काठमाडौं जाने बिस्वकर्मा र दाहालको ज्याकेटमा ब्राउन सुगर फेला परेका हो ।

इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले हाईस गाडीद्वारा काठमाडौँ ज्याकेट पार्सल गर्न आएका विश्वकर्मालाई शङ्का लागेर चेकजाँच गर्दा पार्सल गर्न आँटेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई छिपाई राखेको २८ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट दाहालको हो भनी बताएपछि दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका-१ मा फेला पारिएको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।