झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताए ।
बिर्तामोडमा प्रेस चौतारी झापाले सोमबार पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रामा गलत कार्यको खबरदारीसमेत भएको बताए ।
निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासो सम्बोधन यात्राले गरेको उल्लेख गर्दै पोखरेलले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी गरेका थिए । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका बिभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताए । राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको जनसहभागिताले पुष्टि गरेको उनले बताए।
उनले मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठुलो सफलता पाएको बताए । चाँडै काठमाण्डौमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख गर्ने पोखरेलको भनाई थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दीपक कार्की लगायतको उपस्थिति रहेको थियो ।























































