मेचीनगर । झापाको मेचीनगर-८, इटाभट्टामा रहेको आदर्श मावीमा ६ करोेड ९ लाख रुपैयाँ बजेटमा ५० कोठे  सुबिधासम्पन्न कक्षा कोठा निर्माण हुने भएको छ ।

संघीय सरकारबाट प्राप्त विशेष अनुदान तथा नगरपालिकाको योजनाअन्तर्गत पहिलो चरणमा ८ कोठाको सुविधायुक्त भवन बनिने भएको हो ।

यो आर्थिक वर्षका लागि पहिलो चरणमा १ करोड १५  लाख रुपैयाँ निकासा भएर ठेक्का लागेसँगै भवन शिलान्यास भएको शिक्षक अभिभावक संघ अध्यक्ष भोलानाथ तिम्सिनाले बताए ।

विद्यालयमा शुक्रबार  आयोजित कार्यक्रमबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पहिलो चरणको बजेटनुसारको भवन शिलान्यास गरेका छन्।

शैक्षिक व्यवस्थापन तथा इआरोमा उत्कृष्ट स्थान प्राप्त गरिरहेको विद्यालयलाई भइरहेको भवनको अभाव अब हट्ने विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए । ‘यो वर्ष ४/४ कोठाको दुईतले भवन बन्नेछ प्रअ पुरीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए । मेयर बुढाथोकीले भवन निर्माणका लागि ठेक्का लगाउनेदेखि निर्माण सम्पन्न अवधिभर सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने बताए ।  

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मिना पोख्रेल उप्रेती, निमित्त कार्यालय प्रमुख तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, नगरका सामाजिक विकास शाखा प्रमुख ह्ृदय राजवंशी, भौतिक पूर्वाधार शाखा प्रमुृख चित्रा धिमाल, निवर्तमान मेयर विमल आचार्य, वडा नं ८ अध्यक्ष गिरीराज धमला, जनप्रतिनिधि, पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रअ, छिमेकी विद्यालयका प्रअ, सञ्चारकर्मी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थी सहभागी थिए । 

व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रअ पुरीले पारेका थिए भने सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।