बाहुण्डाँगी । झापाको मेचीनगर-३ बलभद्र आधारभूत विद्यालयका विद्यार्थी, अभिभावक र २ वटा वडाध्यक्षबीच साझा सवाल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
बिद्यालयको सप्ताह अतिरिक्त कार्यक्रम अन्तर्गत वडा अध्यक्षसँग साझा सवाल कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा मेचीनगर-२ का वडा अध्यक्ष दीपक बराल र प्रमुख अतिथिका रुपमा मेचीनगर- ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत सहजीकरण गरेका थिए ।
विद्यार्थीहरुले जनप्रतिनिधिहरुसँग विभिन्न जिज्ञासा तथा विद्यालयका आवश्यकताका विषयमा आफ्ना कुराहरु राखेका थिए । विद्यार्थीरु लिजा नेपाल, भिमता तामाङ, कुशल पोखरले बबिता नेपाल, कुनाल मेचे, उत्सव ठटाल, अनुजा शंकर, सुविता खतिवडा, बिमला दासलगायत अभिभावकहरुले विद्यालयमा भएको खानेपानी, खेलकुद, शैक्षिक सामाग्री, छात्रा शौचालयका विषयमा जानकारी गराएका थिए भने वडा अध्यक्षद्धय बराल र बस्नेतले उनीहरुको जबाफ दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मेगेन्द्र थापा, तिलविक्रम लुंगेली, हरिप्रसाद चापागाईंले समय अनुसारको कार्यक्रम सञ्चालन भएको बताए ।
प्रधानाध्यापक निरज पोखरेलले स्वागत गरेको साझा सवाल कार्यक्रमको संचालन शिक्षक देबु बानियाँले गरेका थिए ।

















































