झापा । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सूचना लुकाउने सरकारी कार्यालयलाई कार्वाही गरिने बताएका छन् ।
सरुवा भएर झापा आएका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले शुक्रबार पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मकमा कार्यालय प्रमुखहरूलाई सूचना नलुकाउन भन्दै लुकाएको पाए कार्वाही गर्ने बताएका हुन्।
यहाँ कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूले सूचना लुकाउने गरेको गुनासाहरू सुनिन्छ। कार्यालयमा हुने गरेका गतिविधिहरूका बारेमा अब सूचना लुकाउन पाइँदैन। ‘त्यसैले बिहीबार कार्यालय प्रमुखहरूसँग बसेको पहिलो बैठकमै विगतमा जे भएपनि अबदेखि आम नागरिक तथा पत्रकारहरूले मागेको सूचना तत्काल उपलब्ध गराउनु पर्ने निर्णय गरेका छौँ,’ प्रजिअ बाँस्तोलाले भने।
सूचनाको पहुँचबाट कसैलाई पनि वञ्चित हुन नदिन आफू लागि पर्ने बताउँदै प्रजिअ बाँस्तोलाले भने, ‘सूचना अधिकारी नभएको वा नतोकेको कार्यालयहरूले तुरुन्त सूचना अधिकारी नियुक्त गरी सूचना प्रवाह गर्न निर्देशन दिइसकेका छौँ।’
कार्यालयहरूले सूचना उपलब्ध नगराए वा आनाकानी गरेमा तुरुन्त जानकारी गराउन उनले आग्रह समेत गरेका छन्। जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताउँदै उनले भने, ‘शान्ति सुरक्षा खलबलाउने र आपराधिक क्रियाकलाप गर्ने व्यक्तिसँग कुनै सम्झौता हुँदैन, त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानुनी दायरमा ल्याउँछौँ।’
जिल्लाको ठप्प बनेका विकास निर्माणका कार्य, हात्ती समस्या, डुबान, कालोबजारी, मिटरब्याजी, लागूऔषध, चोरी तस्करी मुख्य चुनौती रहेको छ। त्यसतर्फ प्रहरी, प्रशासन कटिबद्ध भएर लाग्ने उनको भनाइ छ।























































