झापा । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।
१९ लाख ६० हजार रकम लिएर फरार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि बीस लाख लाग्ने प्रलोभन देखाएका थिए ।
पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्दै पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ






















































