एजेन्सी । विमान उडाउन ढिला गरेको भन्दै भारतीय यात्रुले कुटपिट गरेका छन् ।दिल्लीबाट गोवातर्फ उडान भर्नुपर्ने इन्डिगो एअरलाइन्सको विमानभित्रै पाइलट कुटेका हुन् ।
यात्रुले पाइलटमाथि हातपात गरेको भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ । भिडियोमा पाइलटले विमान उडान ढिलो हुने घोषणा गरिरहँदा एक यात्रु दौडँदै गएर उनलाई थप्पड हानेको देखिन्छ ।
थप्पड हानेपछि ती यात्रुले भनेका छन्, ‘विमान चलाउने भए चलाऊ, नत्र ढोका खोलेर हामीलाई जान देऊ ।’ अर्की महिलाले चाहिँ ती यात्रुलाई भनेकी छिन्, ‘तिमीले जे गर्यौं, त्यो गलत भयो ।’
भारतीय मिडियाहरूका अनुसार सो विमानले निकै बाक्लो कुहिँरोका कारण भिजिबिलिटी कम हुँदा दिल्लीबाट गोवाको उडान भर्न सकेको थिएन । केही दिनयता दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरोका कारण सयौं विमान उडानमा ढिलाइ भइरहेको छ ।
आइतबारमात्रै भारतमा खराब मौसमका कारण ४०० उडानमा ढिलाइ भएको थियो । हवाई मार्ग बदलेर १० उडान भएको थियो भने २० उडान स्थगित गरिएका थियो ।
दिल्ली-एनसीआरसहित उत्तर भारतमा शीतलहर फैलिएको छ । निकै बाक्लो हुस्सुका कारण दिउँसै अन्धकारमय छ । दिल्लीमा आइतबार न्यूनतम तापक्रम घटेर ३.५ डिग्री सेल्सियससम्म झरेको छ ।
विमानमात्र नभई कयौं रेलको समेत प्रस्थानमा ढिलाइ भइरहेको छ ।






















































