झापा । माघे संक्रान्तिको अवसरमा नुवाकोटमा आज विभिन्न स्थानमा गोरु जुधाँइने प्रतियोगिता भएको छ । हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउँने गरिन्छ । जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो ।
तारेकश्वर गाउँपालिका–२ तारुकामा १७ हल गोरु जुधाउँने तयारी भएको मेला आयोजक संस्थाका संयोजक मदन श्रेष्ठले बताए । गोरुजुधाइँ मेलालाई विगतकाे जस्तै उत्साहका साथ सञ्चालन गर्न किसानहरू सक्रिय भएको र दर्शकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको संयोजक श्रेष्ठले बताए ।
यस्तै, नुवाकोट र रसुवा सीमास्थल विदुर नपा– १० बेत्रावतीमा पनि गोरु जुधाउँने तयारी पूरा भएको छ । माघेसंक्रान्तिको अवसरमा नौ हल गोरु जुधाउँने गरी किसानले दर्ता गराएको आयोजक गोसाइँकुण्ड युवा क्लबका मेला व्यवस्थापन समितिका संयोजक सुरज लवटले जानकारी दिए । संयोजक लवटका अनुसार गोरुजुधाइबाहेक ब्याडमिन्टनलगायत अन्य खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछ ।
यस्तै, पञ्चकन्या गाउँपालिकाको पञ्चकन्यामा पनि १५ हल गोरु जुधाउने तयारी भएको छ ।जिल्लाको विभिन्न स्थानमा छरिएर माघे संक्रान्तिमा किसानहरूले गोरु जुधाउँने परम्परा धेरै लामो भएपनि ०६२ सालबाट तारुकाले व्यवस्थित गरी एउटै पाटोमा गोरुजुधाइँ मेला सञ्चालन गरेको थियो । उक्त मेलामा दर्शकको ओइरो लागेपछि त्यसयता निरन्तर रूपमा मेला सञ्चालन हुँदै आएको तारकेश्वर गा.पा.–२ का वडाध्यक्ष शिवप्रसाद पनेरूले बताए ।
तारुकाको गोरुजुधाइ मेलाको सफलतापछि ०६७ सालबाट बेत्रावतीमा पनि व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो । पछिल्लो केही वर्षदेखि पञ्चकन्यालगायत विभिन्न स्थानमा माघेसंक्रान्तिमा गोरु जुधाउन थालिएको छ ।























































