मेचीनगर । अढाई दशकयता सडक पेटीको अस्थायी कार्यालयबाट सेवा प्रवाह गर्दै आएको काँकरभिट्टा अस्थायी ट्राफिक प्रहरी पोष्टले नयाँ रुप पाएको छ । स्थानीयको पहलमा आवाससहितको सुविधा सम्पन्न कार्यालय भवन निर्माणपछि अस्थायी ट्राफिक प्रहरी पोस्टले नयाँ ब्यवस्थापनमा नयाँ रुप पाएको हो । कार्यालय भवन निर्माणपछि बिहीबार एक कार्यक्रमकाबीच २२ लाखमा निर्मित भवन हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रवीन कोइरालाले ट्राफिक प्रहरीलाई चाबी हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा भवन निर्माणमा आर्थिक सहयोग गर्ने सयबढी दाताहरुलाई सम्मानपत्रद्वारा सम्मानसमेत गरिएको थियो । निर्माण समितिका आर्थिक संयोजक सुभाष गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गत भदौ ६ गते शिलान्यास गरिएको भवन ४ महिनाको अघि मेची सामुदायिक सेवा केन्द्र अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा निर्माण समिति बनाइएको थियो ।
कार्यक्रममा पूर्वसांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, काँकरभिट्टा खानेपानी संस्थाका उपाध्यक्ष गोविन्द गिरीको आतिथ्यता थियो ।
त्यस्तै प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, प्रहरी नायव उपरीक्षक दिपक भारती, सशस्त्र प्रहरी नायव उपरीक्षक विकास खनाल, ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपाने, प्रहरी निरीक्षक यशोदा घले, ट्राफिक भवन निर्माण सल्लाहकार समितिका सदस्यहरु डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, हरिप्रसाद तिम्सिना, ओमप्रकाश खापुङ, विष्णुकुमार श्रेष्ठ, समाजसेवी पुष्पा गुरुङको आतिथ्यता थियो ।
भवन निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खडानन्द भण्डारीले गरेका थिए । सञ्चालन समिति सल्लाहकार सदस्य सुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।





















































