झापा । मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने क्षेत्रमा समाचारको बिषय समेट्न नसकिएको सम्बन्धित बिषयबिज्ञहरुले गुनासो राखेका छन् । 
नेपाल पत्रकार महासंघ झापाद्वारा शुक्रबार आयोजित अन्तरकृयामा अग्रज पत्रकार तथा बिस्लेषकहरुले मानव स्वास्थ्यमा असर पर्ने  बिषयमा सचेत गराउन समाचारले भुमिका खेल्न नसकेको धारणा राखेका हुन् ।
अन्तरकृयामा अग्रज पत्रकार एबम् सम्बन्धित बिषयका बिज्ञ श्रवण शर्माले जुन चिजले हाम्रो स्वास्थ्य ध्वस्त बनाई रहेको छ त्यसलाई समाचारको विषय बनाउन नसकिएको धारणा राखेका थिए । सिडीइआर यूएसएका नेपाल प्रतिनिधिसमेत रहेका शर्माले कार्बनको उत्सर्जनबाट पृथ्वीमा जीवन धरासायी बन्दै गएको बताउँदै कार्बनडाईअक्साइडको उपभोग गर्ने बनजंगल बढाउँदै लैजानुपर्नेमा जोड दिए ।  
हाम्रा खेतबारीमा उब्जने खाद्यबाली अस्वस्थ बन्दा मानव स्वास्थ्यमा पर्ने प्रतिकुल असर निरन्तर बढ्दै गएको बताए पानीको स्रोत सुकेर नदीहरु सानो बन्दै जानू जलवायु परिवर्तनको डरलाग्दो अवस्थाको संकेत गरिरहेको शर्माको भनाई थियो ।
अर्का सहजकर्ता नेपाल प्रेस इनिस्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले नेपाली पत्रकारिता राम्रो र नराम्रो छान्नमै व्यस्त रहेको बताए । “हामीले हाम्रो भूगोल, संस्कृति र परम्परा भुल्दै गएका छौं, कोइरालाले भने-सरकार र शासकको आलोचना गर्दै हाम्रो समय गइ रहेको छ । इतिहासका महत्वपूर्ण घटना र परिस्थितिबारे हामी अझै अनविज्ञ छौं ।”
कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार तारा बरालले पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको बताए । राजनैतिक रङबाट माथि उठ्न जरुरी रहेको उनको भनाई थियो ।
अन्तरक्रियामा उठेका पत्रकार ज्ञानेन्द्र निरौला, पर्वत पोर्तेल, प्रदिप परियार, स्वस्तिका आचार्यलगायतले जिज्ञासा राखेका थिए । सो अवसरमा पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्यलगायतले धारणा राखेका थिए ।महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र संचालन सचिव डिकेश लामाले गरेका थिए । अन्तरकृयामा अग्रजसहित ६० जना पत्रकारको सहभागिता रहेको थियो