धनकुटा । बालबालिकाबाट आर्थिक लाभ लिदै यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटाकी आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 


तामाङले गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै उक्त व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दारसमेत गरेको छ ।


काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा रेष्टुरेन्टमा पुर्याउने प्रलोभन देखाएर राख्ने गरेको प्रहरीको भनाई छ ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने भनी प्रलोभनमा पार्ने गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ । शुरूमा वेटरको काममा लगाउने र केही समयपछी ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।