झापा । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ र एमालेको १ जनासहित १९ जना उम्मेदवार विजयी भएका छन् । 

कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए भने एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालाले ५ हजार ८६  मत ल्याउँदा प्रतिस्पर्धी चम्पादेवीले ४ हजार ९९२ मत ल्याइन्। कांग्रेसका केही मतदाताले फ्लोर क्रस गरेपछि एमाले उम्मेदवार कोइराला विजयी भएकी थिइन्।  त्यस्तै सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याए। उनीहरूबीच ७३० को मतान्तर रह्यो।

त्यस्तै मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए। कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्। ढुंगानाले ७ हजार ३७० मतभार ल्याए भने पूजाले ७ हजार ९२३ मतभार ल्याए। उनीहरूका प्रतिद्वन्द्वी एमालेका विजेता झाले २ हजार ४८४ मतभार पाइन् भने उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन्।

त्यस्तै बागमती प्रदेशमा गठबन्धनका चारजनै उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका हुन्। बस्नेतले ६५३१ मतभार, पुडासैनीले ६६२२ मतभार ल्याए भने अधिकारीले ६३८३ र रिजालले ६५१२ मतभार ल्याए।

त्यस्तै गण्डकीमा गठबन्धनका तीन जना उम्मेदवार विजयी भए। कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका हुन्। श्रेष्ठले ३८०८, मनरुपाले ३६६० र परियारले ३७७९ मतभार ल्याए।

त्यस्तै लुम्बिनी प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी भए। कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्। सापकोटाले ५४३५ मतभार प्राप्त गरिन्।

त्यस्तै कर्णालीमा प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भए। एकीकृत समाजवादीकी सावित्री मल्ल, कांग्रेसका कृष्णबहादुर रोकाया र  माओवादीका विष्णु विक निर्वाचित भएका हुन्। मल्लले ३ हजार ७२२, रोकायाले ३ हजार ८७० र विकले ३ हजार ८१७ मतभार ल्याए। 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभार, बलदेव बोहरा ४ हजार ३२८ मतभार र माओवादीकी रेणु चन्द ४ हजार ४५३ मतभारसहित विजयी भए। अन्नपूर्ण पोष्टबाट