झापा । मिटर ब्याज पीडितहरुले सहिद दिवसको अवसर पारेर पूर्वी नाका काँकरभिट्टाबाट न्याय मार्च (पैदल यात्रा) गर्ने भएका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको आयोजनामा पहिलो चरणमा उनीहरुले पूर्वी नाका काँकरभिट्टाबाट र कञ्चपुरको महेन्द्रनगरबाट एकै पटक मंगलबार विहानदेखि यात्रा सुरु गर्ने जनाएका छन् । 

यस अघि मिटर व्याज पीडितहरुले काठमाडौंमा न्याय मार्च गरेका थिए । आर्थिक अपराधबाट पीडित बनाइएका किसान मजदूरलाई अपराधीहरुको चुंगुलबाट मुक्त गराउन सरकारलाई दबाब दिने उद्देश्यले न्याय मार्च गर्न लागिएको समितिका अध्यक्ष अवशेष कुश्वाहाले बताए । 

समितिले काँकरभिट्टामा कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा तीन बर्षको लामो संघर्षपछि उपत्यका बाहिर पहिलोपटक जिल्लाका पीडितहरुलाई समेत समेटर यात्राको आरम्भ गर्न लागेको अध्यक्ष कुश्वाहाले बताए। 

पूर्वी काँकरभिट्टाबाट र महेन्द्रनगरबाट हिंडेको यात्रा चितनवमा पुगेर १५ दिनपछि एकै साथ काठमाडौं प्रवेश गर्ने उनको भनाई छ । उनले आन्दोलन स्वरुप गरिएको यात्रा अवधिमा पीडितहरुले सडकमा खाने र सडकमै बस्ने जानकारी दिए ।