झापा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
कास्की प्रहरीले फिरौती माग्दै ज्यान मार्ने धम्की दिने पोखरा बस्ने पर्वतका दुई जनालाई बुधबार पोखराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिकाका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।
पोखरा महानगरपालिका–१६ लामाचौरका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत धम्की दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूले पोखरा–१६ दीपमा सच्चाइ सेवा केन्द्र चलाउँदै गैरेलाई फोन र म्यासेजमार्फत धम्की दिएका थिए । पैसा मागेको र नदिए मार्ने धम्कीसमेत दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले बताए ।
त्यसपछि ती व्यक्तिले माघ १८ गते फोन तथा म्यासेजबाट धम्की दिई रकम मागेका थिए । हिन्दी भाषा प्रयोग गरी उनीहरूले फोन तथा म्यासेज गर्ने गरेको एसपी थापाले सुनाए । त्यसपछि पनि उनीहरू पटक पटक गैरेको कार्यालयमा पुगेका थिए । गैरेको उजुरीका आधारमा बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
उनीहरू दुवै जना करिब १ महिनादेखि पोखरा सिमल चौरमा बस्दै आएका थिए ।
दर्जी कतारमा ४ वर्ष बसेर एक महिनाअघि मात्रै नेपाल आएका थिए । उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको पाना, किताब, नोट बुक, भारतीय सिम, खुकुरी, गाँजा, भरुवा बन्दुकमा लाग्ने केप, रन्दा मेसिन र गेलेण्डर मेसिनसमेत बरामद गरेको छ । ‘विदेशबाट आउनेबित्तिकै पोखरामा भाडामा लिएर बसेको देखिन्छ । उतैबाट योजना बनाएर आएको कि यता आएर योजना बनाएको अनुसन्धानबाट खुल्दै जाला’, एसपी थापाले भने ।
पक्राउ परेका दीपकबहादुर क्षेत्री यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए । उनी २०७९ मा हातहतियार तथा खरखजाना र २०७१ मा सार्वजनिक मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटेन्सनसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।
बिग मनी बिग टार्गेट, किन्डन्याप, फिरौती, सुटआउट, प्रोटक्शन मनी, गणतन्त्र, राजतन्त्र, धर्म निरपेक्षता, हिन्दू राष्ट्र, नेता, व्यापारी गुण्डा, भू–माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लेखिएका पानासमेत प्रहरीले बरामद गरेको छ ।






















































