काठमाडौं । एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकमा विशेष सुपरिवेक्षण पठाएसँगै उनले राजीनामा दिएका हुन्।
पछिल्लो समय एनआईसी एसिया बैंकको वित्तीय अवस्था खस्किँदै गइरहेको छ। एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात मिलाउन वासेल रिपोर्टमा गरेको तोडमोडविरुद्द राष्ट्र बैंकले अनुसन्धानसमेत थालिसकेको छ ।
प्राथमिक पुँजीकोष (टायरवान) मिलाउन एनआइसी एसिया बैंकले वासेल रिपोर्टमा गम्भीर छेडखानी गरेको बिषयमा सार्वजनिक भएको थियो । यसपछि नै सञ्चालक समितिसँगको कुराकानीमा नै उनले राजीनामा बुझाएको बुझिएको छ।
डेपुटी सीईओ पाण्डेले गएको बुधबार नै सीईओ रोशनकुमार न्यौपानेसमक्ष राजीनामा बुझाएको र शनिबार बस्ने सञ्चालक समितिको बैठकले त्यसलाई स्वीकृत गर्ने बैंक स्रोतले जनाएको छ।
एनआईसी एसिया बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा २०७५ मंसिरमा बढुवा गरेको थियो। त्यसअघि उनी सहायक प्रमुख कार्यकारी अधिकृत थिए।























































