झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले मेची भन्सारबाट चोरी पैठारी र नक्कली बिलका बिषयमा मन्त्रालयले निगारानी बढाउने बताएका छन् । 
मेची भन्सार कार्यालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत:
भद्रपुर भन्सार कार्यालय, नेपाल–भारत सीमा, मेची पुल निरीक्षणपछि मेची भन्सार कार्यकक्षमा बोल्दै अर्थमन्त्री डा. महतले मेची भन्सारको लापरबाहीले चोरी-पैठारी र नक्कली बिलको समस्या देखिएको भन्दै आवश्यक निगारानी बढाउने बताएका हुन् । उनले सीमा क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको सहयोग भएपनि भन्सारकै लापरबाही पाइएको र आगामी दिनमा कमिकमजोरीलाई सुधार गरेर जान निर्देशन पनि दिएका थिए । उनले नेपालको अर्थको ९ देखि १० प्रतिशत सुधार भएपनी अपेक्षा गरेअनुकूूल नभएको समेत बताए । सो अवसरमा सिमा क्षेत्रमा ब्यवसायीले भोग्नुपरेको समस्याका बिषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
उता अर्थमन्त्री डा. महतले भन्सारको वर्तमान विषय वस्तुको बारेमा जानकारी लिएका थिए ।
भद्रपुर भन्सार कार्यालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत:
निरीक्षणमा पुगेका डा. महतलाई यहाँका सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तोरन्नतीका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् । छोटीबाट मूल भन्सारमा स्तोरन्नती गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराइएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।
अर्थमन्त्रीले त्यसको लागि छिट्टै पहल गर्न आश्वासन दिनुभएको उनले बताए । सो निरीक्षण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षण पश्चात् अर्थमन्त्री डा. महत आन्तरिक राजश्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए । उनी मेची भन्सार कार्यालय काँकडभिट्टाको निरीक्षण र दमक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।























































