विराटनगर । ट्रकको ठक्करबाट बिराटनगरमा स्कुटरको पछाडी सवारको मृत्यु भएपछि आक्रोशित युवाले ट्रकमा आइतबार आगजनी गरेका छन् ।
विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटरलाई ट्रकले ठक्कर दिँदा सुनसरी दुहवी-९ का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको थियो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सुनसरी दुहवी-९ का २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोशी अस्पताल लैजाँदा मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटरको पछाडि बस्ने सोस्था चौधरी घाइते छन् ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेर केही क्षण कोशी राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले ट्रक चालक शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ । अहिले कोशी राजमार्गको अवरोध प्रहरीले हटाएको छ ।






















































