भद्रपुर । भद्रपुर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ४ बुँदे घोषणा पारीत गरेको छ । 

दक्षिणी झापामा हात्तीको उपद्रो बढेसँगै समस्या निराकरणका लागि अन्तरक्रिया कार्यक्रममा ४ बुँदे घोषणा पारीत गरेको हो ।

बुँदामा डिभिजन वन कार्यालय, स्थानीय तह मिलेर फेन्सिङ तार मर्मत समितिको सहकार्यमा फेन्सिङ तार मर्मत सम्भारको व्यवस्था मिलाउने साथै फेन्सिङ तार स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्य डिभिजन वन कार्यालयमार्फत गर्ने र विस्तार कार्यका लागि पहल गर्नेबारेमा पारीत गरेको छ 

त्यस्तै सामुदायिक वन समितिको समन्वयमा स्थानीय तहको सहभागितामा सामुदायिकस्तरमा रेपिड रेस्पोन्स टिम तयार गर्ने, हात्तीमैत्री वातावरण निर्माण गर्न वन क्षेत्रलाई पर्यापर्यटनको  रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार र संघीय सरकार समेतलाई ध्यानाकर्षण गराउन आवश्यक पहल गर्ने र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने, क्षतिपूर्ति प्रदान गर्ने कार्यलाई छिटो–छरितो गराउन सम्बन्धित निकायलाई आवश्यक पहल गर्ने र एकद्वार प्रणालीको व्यवस्था मिलाउने रहेको छ ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य छविलाल चुँडाल, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, भद्रपुर नगर उप–प्रमुख राधा कार्की, भद्रपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायत डिभिजन वन कार्यालय, सामुदायिक वन, फरेष्ट एक्सन नेपाल, भद्रपुर वन महासंघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघका प्रतिनिधिहरूले जंगली हात्ती तथा मानव द्वन्द्व निवारणका लागि ४ बुँदे घोषणा पारित गरेका छन् ।

पछिल्लो समय झापामा घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जंगलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट ज्यान गुमाउने क्रम पनि बढिरहेको छ । जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा आक्रान्त छ । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क सरकारी निकायले उपलब्ध गराउन सक्ने अवस्था छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहाराको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनास गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनु परिरहेको अवस्था छ । 

जंगली हात्ती तथा मानव द्वन्द्व निवारणका लागि दक्षिणी झापामा पनि हात्ती रोक्न तारवारको काम भए पनि प्रभाव कम हुँदै जाँदा दिन प्रतिदिन समस्या झेल्न बाध्य स्थानीय बासिन्दाको सुरक्षाका लागि छलफल थालिएको भद्रपुर नगर प्रमुख पोखरेलको भनाई छ ।

सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गरिरहेका छन् ।