धुलाबारी । कमजोर आर्थिक अवस्थाकै कारण इण्डियन आइडलमा दसौं स्थानमा पुग्न सफल गायिका मेनुका पौडेललाई झापाको धुलाबारीमा नागरिक अभिनन्दन गरिने भएको छ ।
मेचीनगर-१० स्थित मंगलचोक मंगलमार्ग संरक्षण समितिले शनिबार साँझ `सडक सांस्कृतिक´ कार्यक्रमबीच गायिका पौडेललाई अभिनन्दन गरिने भएको हो । कमजोर आर्थिक अवस्थाकी मेनुकालाई उक्त कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरणसमेत गर्ने मंगलचोक मंगलमार्ग सरक्षण समितिका संयोजक गोकुल खड्काले शुक्रबार पत्रकारसमक्ष जानकारी दिए ।
प्रत्येक वर्ष सरस्वती पुजाको अवसर पारेर साङ्केतिक- सांस्कृतिक कार्यक्रम गर्दै आएको समितिले तेस्रो स्थापना दिवसमा`रोड-सो´सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको धर्मेन्द्र खड्काले बताए । स्थानीय संघ-संस्थाहरुको सहभागीता रहने उक्त सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न १ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको संयोजक खड्काले बताए ।
फरक क्षमता भएपनि नेपालको सान राख्न सफल झापाली चेली गायिका पौडेल कमजोर आर्थिक अवस्थाका कारण पर्याप्त भोटिङ नआउँदा प्रतियोगिताको दसाैं स्थानबाट बहिरिएकी थिइन् ।
कार्यक्रममा मेचीनगर-१० का राष्ट्रिय कलाकार गायक जमिर अलि तथा स्थानीय कलाकारले प्रस्तुति गर्ने छन् ।






















































