मेचीनगर । नेपालका राजनीतिकर्मीको गलत नेतृत्वदायी भुमिकाका कारण एसियाकै उत्कृष्ट लोकतान्त्रिक ब्यवस्था भएको मुलुकले संकटको सामना गर्नुपरेको राजनीतिक बिश्लेषकहरुले औंल्याएका छन् ।
झापाको मेचीनगर लेडि जेसीजले मंगलबार धुलाबारीमा आयोजना गरेको `वर्तमान राजनीति र अबको बाटो´ बिषयक अन्तरक्रियाका प्रमुख अतिथि राजनीतिक बिश्लेषक प्रा.डा.लोकराज बरालले उक्त कुरा औंल्याएका हुन् । उनले दक्षिण एशियामा सबै भन्दा राम्राे लाेकतन्त्रिक मुलुक नेपाल मात्रै भएको उल्लेख गरेका थिए ।`कमान्ड पोलिटिक्स एण्ड डिमान्ड पोलिटिक्स´राजनीतिको चर्चा गर्दै शैद्दान्तिक र ब्यवहारिक पक्ष ताल्मेल नहुँदा देशमा राजनीतिको नैतिकता गुम्दै गएको उल्लेख गरे ।
भारतका राजदुत समेत रहेका प्रा.डा. बरालले विगतदेखि नै कमाण्डकाे नेतृत्व गर्दै आएका केही मुठिभरका शासकहरूले लाेकतन्त्रलाई धरापमा पार्न खाजेकाे बताए ।
´विगतमा राणा र पञ्चायती शैलीले देश बनेन, अहिलेकाे नेतृत्व त्यहीँ गरिरहेका छन्`, बरालले भने-´अब इमानदार, समावेशी, संघीयता र लाेकतन्त्र बुझेकाेले मात्र देश बनाउन सक्छ । हुकुमी शासनले, कमाण्ड राजनीतिले अब देश चल्दैन । समावेशीकरण, धर्मनिरपेक्ष लाेकतन्त्रकाे सुन्दर पक्ष हाे । धर्मकाे नाममा राजनीति गर्न हुँदैन । भारतमा प्रधानमन्त्री नरेन्द्र माेदीले त्यहीँ गरे । त्याे राम्राे पक्ष हाेइन ।`
अर्का वक्ता प्राध्यापक कृष्ण खनालले संविधानमा थुप्रै गल्तीहरू रहेकाे बताए ।
´पुरानाे पार्टी र पद्धतिकाे संरचना परिवर्तन गरेर प्रतिस्पर्धाबाट राजनीति नेतृत्व चयन गर्ने राजनीति प्रणालीको बिकास गरेमात्रै स्थिर राजनीतिले देशमा आमूल परिवर्तन गर्न सक्ने उनको तर्क थियो ।
कार्यक्रममा विद्वान् कृष्ण हाछेथुले आवरण गणतन्त्रकाे भए पनि व्यवहार राजतन्त्रकै रहेकाे दावी गरे ।
कार्यक्रमका मुख्य वक्ताहरूले स्थानीय समाजसेवीहरू नरेन्द्रकुमार खड्का, इन्द्रबहादुर बुढाथोकी, सागर शिवाकोटी, नारायण वस्नेत लगायतकाे जिज्ञासाकाे जवाफ दिएका थिए ।
मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत कार्यक्रम संयाेजक शर्मिला दाहालले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।
















































