काँकडभिट्टा । पूर्वी नाका मेचीनगरका विभिन्न स्थानबाट चाइनिज लाइटर तस्करी भइरहेको पाइएको छ । मेचीनगरको सतिघट्टा, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरिङ लगायतको खुला नाकाबाट ठुलो परिणामको चाइनिज लाइटर भारत तस्करी भइरहेको हो।

मेचीनगरबाट भारत तस्करी भएको ४० कार्टुन चाइनिज लाइटर पश्चिम बङ्गाल प्रहरीले मंगलबार सिलगुढीबाट बरामद गरेसँगै सो घटनाको पुष्टि भएको हो। स्पेसल अपरेसन ग्रुप (एसओजी) र सिलगुढी प्रहरीले खालपाडा इलाकाको एउटा गोदाममा नेपालबाट अवैध रुपमा भित्राइएको चाइनिज लाइटर बरामद गरेको जनाइएको छ।

सिलगुढी प्रहरीले लाइटरसहित गोदाम सञ्चालक ६० वर्षीय ललन महतोलाई पनि पक्राउ गरेको छ। एक लाख २० हजार पिस लाइटरको अनुमानित भारतीय बजार मूल्य लगभग १२ लाख रुपैयाँ तोकिएको छ। सो लाइटर काँकडभिट्टा नाकाबाट अवैध रुपमा भित्राई सिलगुढी पुर्‍याएको भारतीय प्रहरीको दाबी छ।

भारतीय प्रहरीले नेपाली लाइटर भनिए पनि सो लाइटर चाइनिज हो। सुपारी, मरीच, केराउ र छोकडा ल्याउने नेपाली व्यापारीले पछिल्लो समयमा चीनबाट ठुलो परिणाममा लाइटर आयात गरी नेपाल भित्राएका छन्।

ती व्यापारी समूहले चाइनिज लाइटर झापाको गोदाममा ल्याएर भण्डारण गरी राखेको छ। ती व्यापारी समूहले नै अहिले चाइनिज लाइटर अवैध रुपमा भारत निकासी गरिरहेको स्रोतको दाबी छ। एक कार्टुन चाइनिज लाइटरको नेपाली मुल्य ७ हजार रुपैयाँ पर्छ। अहिले दाम घटेको हो। पहिला साढे ८ हजार पर्थ्यो, एक कारोबारीले भने, ‘अहिले सिलगुढीमा भारतीय ५ हजार २ सय रुपैयाँमा प्रति कार्टुन बिक्री भइरहेको छ, पहिला ६ हजार ५ सय रुपैयाँसम्म बिक्री हुन्थ्यो।’

सीमा नाका कटाए बापत लाइनमेनले एक कार्टुनको भारतीय ३ सय अर्थात् नेपाली ४ सय ८० रुपैयाँ पाउँछ। ‘सिधै नेपालदेखि भारतसम्म पुर्‍याउने ठेक्का लिने कारोबारीलाई नेपाली ८ सयदेखि एक हजारसम्म बच्छ,’ ती कारोबारीले भने।

झापाको अन्य नाकाबाट लाइटर पठाउँदा बढी खर्च लाग्ने भएकाले व्यापारी र कारोबारीले मेचीनगरका विभिन्न नाकाबाट दिनहुँ सीमामा तैनाथ सुरक्षाकर्मीको सेटिङ लाइटर भारत तस्करी गरिरहेको उनको दाबी छ।