धुलाबारी । झापाको मेचीनगर-१५ धुलाबारीमा ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) सुरु भएको छ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट प्राविधिक शिक्षालयको आयोजनामा दुई दिवसीय प्रदर्शनी सुरु भएको हो । मेचीनगर नगरपालिकाको धुलाबारी क्याम्पसमा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले दुइ दिवसिय ‘इन्जिनियरिङ एक्जिवेशन’ सुरु गरेकोे हो ।
उक्त प्रदर्शनीको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेयर बुढाथोकी र उपमेयर मीना पोखरेल उप्रेतीले इन्स्टिच्युटका विद्यार्थीहरुले तयार पारेको गाडीको रिमोट थिचेर बेलुन फुटाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, उपमेयर उप्रेती, पूर्व मेयर विमल आचार्य, धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भिम खवास, इन्स्टिच्युटका प्रशासन प्रमुख पुष्पराज पौडेल लगायतले मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर र आईटि इन्जिनियरमा डिप्लोमा गर्दै गरेका १२८ जना विद्यार्थीहरुले ८ वटा समूह बनाएर आफुले उत्पादन गरेका सामाग्री प्रदर्शनीमा राखेका थिए ।
विद्यार्थीहरुले एशियन हाईवे, स्मार्ट सिटी, रोवर्ट, इभिको चाजिङ सेन्टर लगायतका समाग्री बनाएर प्रदर्शनीमा राखेको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले जानकारी दिए ।
यस्तो प्रदर्शनी झापामा पहिलो पटक सुरु गरिएको उनको दावी छ । विद्यार्थीहरुलाई गुणस्तरीय प्राविधिक शिक्षा दिने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको मैनालीले बताए । उक्त प्रदर्शनी शुक्रबार
सम्म सञ्चालन हुनेछ ।
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीको अध्यक्षता तथा स्वागत र सञ्चालन शिक्षक दामोदर ढुंगेलले गरेका थिए । धुलाबारी क्याम्पसका प्रमुख समेत रहेका पौडेलले मेचीनगरको प्रत्येक वडाबाट २ जना विद्यार्थीहरुलाई स्कलरसिप दिन नगरपालिकालाई बजेटको व्यवस्था गर्न माग समेत गरेका छन् ।






















































