मेचीनगर । झापाको मेचीनगर-१० स्थित इष्ट होराइजन अंग्रेजी माविले पहिलो पटक दुईदिने ‘वसन्त उत्सव’ मेला सुरु गरेको छ । आइतबार मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले रिवन र पानसमा दीप प्रज्वलन गरी `वसन्त उत्सव´ सुरु भएको हो ।
‘वसन्त उत्सव’मा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तरगतका २२ वटा विभिन्न विद्याहरुबाट सिकेका कलाहरु प्रदर्शनीमा राखेका छन् । जसमा सिलाई बुनाइ, लाइभ पेन्टिङ, कुलिनरी, फोटोग्राफी, लाइभ म्युजिक एण्ड डान्स, ड्रामा, गार्डेनिङ, इलेक्ट्रिक क्लब, पम्बीङ, दुना एण्ड टपरा, चित्रकला, मूर्तिकला, व्युटिसियन, कराँते, विद्यार्थीले उत्पादन गरेको साग सब्जी, पाकशिक्षाका परिकार लगायतका स्टलहरु प्रदर्शनी र बिक्री गरेका थिए ।
अभिभावकको बाक्लो उपस्थित रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले हरेक कुरामा सामुदायिक विद्यालयहरु निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो रहेको बताएका हुन् ।
सामुदायिक विद्यालयले निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्नेभन्दै सामुदायिक विद्यालयले व्यवस्थापनमा ध्यान दिन आवश्यक बताए ।
कार्यक्रमका विशिष्ट अतिथि अग्रज पत्रकार चन्द्र भण्डारीले निजी क्षेत्रबाट इष्ट होराइजनले गरेको प्रगति प्रशंसनीय रहेको बताए ।उनहरुको योगदान सम्झन लायक छ । होराइजनको प्रशंसा जति गरेपनि पुग्दैन । उनले भने–‘म पुर्नजन्म लिए भने सञ्जिव सरको इष्ट होराइजनमा पढ्न पाउँ ।’
सरल र सहज तरिकाले उद्यमशिल, व्यवहारिक, र शीपमुलक बनाउने तथा नयाँ पुस्ताहरुले विर्सन लागेका पुरानो हाट बजार, परम्परागत संस्कृतिसँग जोड्दै पूर्नस्थापना गर्ने उदेश्यले ‘बसन्त उत्सव’ आयोजना गरिएकोभन्दै प्रिन्सिपल सञ्जिव राईले स्वागत गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास समितिका संयोजक ह्दय राजबंशी, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, एनप्यावसन झापाका अध्यक्ष प्रेम लिम्बु लगायत शिक्षा तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । इष्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सञ्जिव राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका रेखा क्षेत्रीले गरेकी थिइन् ।
होराइजन व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षता र स्नेहा गिरीले कार्यक्रमबारे प्रकाश पारेको कार्यक्रमको संचालन रेखा क्षेत्रीले गरेकी थिइन् ।






















































