धुलाबारी । संघीय सांसद बिश्वप्रकाश शर्माले शुद्ध खानेपानी व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
जलवायु परिवर्तनले वातावरण अनुकूलित नहुँदा शुद्ध पानीमा समस्या भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका महामन्त्रीसमेत रहेका शर्माले उक्त कुरा बताएका हुन् । धुलाबारी खानेपानी उपभोक्ता समितिको सोमबार सम्पन्न २३ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले बढ्दो जनघनत्व र पानीको मुहान घट्दोक्रम भएकाले वातावरणलाई जोगाउन र पानीको दुरुपयोगलाई रोक्नसमेत आग्रह गरेका थिए ।
त्यसका लागि म वा त्यो नभनी साझा भावनाका साथ अघि बढ्न पनि शर्माले सुझाएका छन् । ‘सामाजिक संस्थामा राजनीतिक आग्रह–पूर्वाग्रह हुनुहुँदैन’, शर्माले भने, ‘साझा भावनाका साथ अघि बढ्न सकियो भने जस्तोसुकै काम गर्न सकिन्छ ।’ शर्माले धुलाबारी खानेपानी नेतृत्वले उपभोक्ताको आवश्यकक्तालाई मध्यनजर गर्दै काम गरिरहेकोमा प्रशंसा व्यक्त गरे ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले शुद्ध पिउनेको ब्यवस्थापनमा लागिरहन स्थानीय खानेपानी संस्थालाई निर्देशन गरेका थिए ।
संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनमा २०८० माघसम्ममा कुल धारा संख्या ६ हजार ७ सय पुगेको उल्लेख गरिएको छ । उपभोक्ताको आवश्यक्तालाई पूर्ति गर्न खानेपानी विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको पनि प्रतिवेदनमा उल्लेख छ । धुलाबारी खानेपानी आयोजना मेचीनगरका वडा नं ९, १०, ११, १४ र १५ का केही भागहरुमा विस्तार गरिएको छ ।
कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहलगानी विभागका कोशी प्रमुख सुरतलाल चौधरी, धुलाबारी खानेपानी संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, महिला नेत्री दुर्गा भुर्तेल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष हिमालय आङ्देम्बेले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उमेश सुवेदीले गरेका थिए । खानेपानी समितिको बन्द शत्रले आगामी कार्यक्रम तथा योजना तर्जुमा गरेको छ ।






















































