दमक । विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई  विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनीहरुले विद्यार्थीकै लागि मात्र सो रकम खर्च गरिनुपर्ने माग गरेका छन् ।

८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गरेर प्रशासनमा खर्च गरेपनि हालसम्म त्यस बिषयलाई क्याम्पसले गुपचुप बनाएको उनीहरुको आरोप छ । को–को बसेर, कुन शिर्षकमा र के आधारमा विद्यार्थी कल्याण कोषको रकम अन्य शिर्षकमा चलाईयो ? के के निर्णहरु छन् ? तुरुन्त सार्वजनिक गरियोस् भनेर उनीहरुले ३ दिने अल्टिमेटम सहितको विज्ञप्ति क्याम्पसलाई बुझाएका छन् ।

विज्ञप्ति दिदैँ अनेरास्ववियुका केन्द्रीय सदस्य नितेश राईले भने–‘विद्यार्थी कल्याण कोषको रकम विभिन्न वाहानामा खर्च भयो, क्याम्पस प्रशासन यो सामान्य हो भन्नुहुन्छ, के भोली क्याम्पसमा समस्या आयो, विद्यार्थीलाई समस्या भयो भनेर प्राध्यापक कल्याण कोषको रकम खर्च गर्न मिल्छ ? कर्मचारी संञ्चय कोषको रकम खर्च गर्न मिल्छ की मिल्दैन ? आज विद्यार्थीको नामको पैसा विभिन्न वाहानामा खर्च गरेर विद्यार्थीमाथी अन्याय भएको छ ।’

सो विज्ञप्ति स्ववियूलाई बुझाउन जाँदा भने स्ववियूका पदाधीकारीहरु भागेको उनीहरुले बताए । कल सम्पर्क गर्न खोज्दा पनि फोन नउठाएको अनेरास्ववियु दमक क्याम्पसका अध्यक्ष भिजन चेम्जोङले बताए । ‘क्याम्पसमा भएको अनियमीतता र विद्यार्थीको समस्या बोकेर स्ववियु कार्यलय जाँदा साथीहरु ताला लाएर भाग्नुभयो यो अत्यन्तै गैरजिम्मेवारी र लापरवाहीपन हो’ अध्यक्ष चेम्जोङले भने ।

क्याम्पसमा राजनीतिक दलहरु हावी हुन खोजेको र यो राम्रो नभएको क्याम्पस इन्चार्ज अबिश खनालले बताए । यि विद्यार्थीका मागहरु आउँदो ३ दिनभित्रमा क्याम्पसले छलफलको माध्यमबाट टुंगोमा लगाउन उनले आग्रह गरे ।