विराटनगर । नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका पाँचवटा विद्यालयबाट एसईई परीक्षा केन्द्र हटाइएको छ । खुल्ला शिक्षा कार्यक्रम अन्तरगत गतबर्ष एसइई परीक्षामा झण्डै साढे तीन सय जना नक्कली परीक्षार्थी फेला परेका पाँच वटा विद्यालयमा यसबर्ष परीक्षा केन्द्र हटाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई मोरङले नक्कली परीक्षार्थी फेला परेका पाँच विद्यालयबाट परीक्षा केन्द्र हटाएको जनाएको छ । ग्रामथान–२ को सरस्वती मावि, केराबारी–७ को सार्वजनिक मावि, सुन्दरहरैंचाको जनता मावि पचाम, धनपालथानको सर्वोदय मावि र धनपालथानकै सरस्वती मावि दादरबैरियाको परीक्षा केन्द्र हटाइएको समन्वय इकाइले जनाएको छ । चैत १५ गतेदेखि हुने एसइई परीक्षामा यी विद्यालयमा केन्द्र रहेका छैनन् ।
गत बर्ष चैत २२ गते भएको सामाजिक विषयको परीक्षामा मोरङको ग्रामथान–२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेपछि अनुसन्धान गर्दा नक्कली परीक्षार्थीको ठुलो संख्या फेला परेको थियो ।
प्रहरीको सहयोगमा परीक्षार्थीहरूको प्रवेश पत्र जाँच गर्दा सरस्वती माविबाट मात्रै ६१ जना नक्कली परीक्षार्थी फेला परेका थिए ।
केराबारी–७ को सार्वजनिक मावि परीक्षा केन्द्रबाट १५२ जना र सुन्दरहरैंचाको जनता मावि पचामबाट ५४ जना विद्यार्थी पक्राउ परेका थिए । खुल्ला शिक्षातर्फ तीनवटा विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेपछि खुल्ला शिक्षाकै केन्द्र रहेका धनपालथानको सर्वोदय माविमा ७४ जना र सरस्वती मावि दादरबैरिया परीक्षा केन्द्रमा अनुगमनगर्दा ३४ जना विद्यार्थी अनुपस्थित भेटिएका थिए ।
गत बर्ष ठुलो संख्यामा नक्कली परीक्षा भेटिएपछि ती विद्यालयमा कायम रहँदै आएको परीक्षा केन्द्र परीक्षा बोर्डकै निर्णय अनुसार निलम्बन भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङका सूचना अधिकारी शिवप्रसाद घिमिरेले जानकारी दिए ।
खुल्ला शिक्षा कार्यक्रमतर्फ गत बर्ष भने १ हजार ३२ जना विद्यार्थीले परीक्षा फारम भरेर थिए । तर उनीहरूको नाममा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिने गरेको खुलेपछि यस बर्ष भने खुल्लातर्फ ७६ जना मात्रै रहेका छन् ।
मोरङमा यस बर्ष एसईई परीक्षाका लागि ७० वटा विद्यालयलाई परीक्षा केन्द्र कायम भएका छन् । सामुदायिक र संस्थागत गरी ४०९ वटा माध्यमिक विद्यालयबाट नियमिततर्फ १६ हजार ८८०, प्राविधिक धारका ५९६, ग्रेड बृद्धिका २६७ गरी १७ हजार ५४३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदैछन् ।
गत बर्ष भने ७१ वटा परीक्षा केन्द्रबाट कूल १८ हजार ११२ जना विद्यार्थीले मोरङबाट एसईई परीक्षा दिएका दिएका थिए ।






















































