बिर्तामोड । झापालगायत देशभर लागूऔषध प्रयोगकर्ताको संख्या बढेपछि त्यसको नियन्त्रण सम्बन्धी अभिमूखिकरण सम्पन्न भएको छ ।
खुल्ला सीमा क्षेत्रका कारण प्रयोगकर्ता र ओसारपसार बढेको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा अभिमुखिकरण भएको हो । अभिमुखिकरणमा जिल्लाका प्रहरी-प्रशासन, सम्बन्धित सरोकारवाला संस्था, स्थानीय तह, संघ-संस्थाका प्रमुख, पदाधिकारी तथा प्रनितिधि सम्मीलित अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो । लागूऔषध ओसारपसार तथा दुर्ब्यशनी नियन्त्रण गर्न प्रहरीले मात्र नभएर स्थानीय सरकार, स्थानीय सामाजिक संघसंस्थाको पनि उतिकै दायित्व भएकाले अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
लागूऔषध दुर्ब्यशनी रोकथामका उपाय सम्बन्धी जनचेतना मुलक प्रस्तुती प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) गोबिन्द थपलियाले दिएका थिए । प्रस्तुतीका क्रममा थपलियाले २०७६ सम्ममा विश्वमा करिव २९ करोड ६० लाख मानिसहरु लागूऔषधाको दुरुपयोग गरिरहेका र लागू औषध सेवनबाट ३ करोड ९५ लाख मानिस स्वास्थ्य समस्या भोगिरहेको तथ्याङ्क सार्वजनिक गरेका थिए । सोही अवधिमा नेपालमा पनि एकलाख ३० हजार ४२४ जना लागूऔषध दुर्ब्यशनीमा फसेको उनले बताएका छन् । तर, हाल नेपालमा लागूऔषध दुब्र्यसनमा बढ्दो क्रममा रहेको एसएसपी थपलियाले बताएका छन् ।
झापाका चालु आर्थिक बर्षमा लागू औषध सम्बन्धी १७४ वटा मुद्दा दर्ता भएका छन् भने २६४ जना पक्राउ परेका छन् । २६४ मध्ये २५ जना महिला भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ मा २०० मुद्दा दर्ता ३०७ जना पक्राउ परेका थिए । जसमध्ये २६ जना महिला छन् । त्यस्तै आर्थिक बर्ष २०७९/०८० मा २०६ वटा मुद्दा दर्ता भएकोमा ३३६ जना पक्राउ परेका थिए जसका ३५ जना महिला थिए । अभिमुखिकरण कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, झापाका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, बिर्तामोड नगरका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाइइनगर उपप्रमुख आशा शर्मा शिवाकोटी, झापाका स्थानीय तहका वडाध्यक्ष, जनप्रतिनिधि, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।






















































