काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई हटाइएको छ । 

इन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’ मा अब्बल मानिन्छन् ।

सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सीआईबीका एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

त्यस्तै अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

आचार्य अध्यक्ष रहेको आयोगले विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी र २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको छानबिन गरेको थियो । जसमा अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती भएको आयोगले प्रतिवेदनमा औंल्याएको थियो ।