बिर्तामोड । झापामा होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना पक्राउ परेका छन् भने प्रहरीले ३५८ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।

होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै ३५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । प्रहरीका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३४७ , तीन पाङ्ग्रे १० र चार पाङ्ग्रे १ वटा नियन्त्रणमा लिइएको हो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको गिरीले बताए।

प्रहरी प्रशासनले कसैको ईच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गरेमा कानुनी कार्वाही गर्ने निर्णय गरेको थियो । झापाको बिर्तामोड, दमक, सुरुङ्गालगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको थियो ।

प्रहरीले यस अघि होलि सम्बन्धि सचेतनाका लागि माईकिङ्ग समेत गरेको थियो ।

झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ ।

होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सोमवार बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन भएको बताए ।