काठमाडौं । नेपालमै पहिलोपटक हाइड्रोजन बाट सवारी चलाउन सुरु गरिएको छ । ग्रिन हाइड्रोजनमा अध्ययन-अनुसन्धान गरिरहेको काठमाडौं विश्वविद्यालयले हाइड्रोजन उत्पादनपछी कारमा हाइड्रोजन भरेर चलाउन सुरु गरिएको हो ।
विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसियट प्राध्यापक डा. विराजसिंह थापाले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन फिल गर्न आइतबारबाट सुरूवात गरिएको हो ।
विश्वविद्यालयले यसअघि नै दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याइसकेको छ । करिब ८० लाख रुपैयाँ मूल्य पर्ने उक्त कारको पावर १६१ हर्स पावर अर्थात् १२० किलोवाट क्षमताको रहेको छ । जसले ६५० किमिसम्म रेञ्ज दिने बताइएको छ ।
सोही कारका लागि आवश्यक पर्ने हाइड्रोजन तयार पार्न विश्वविद्यालयले गत मंसिरबाटै रिफिल स्टेसनको निर्माण सुरु गरेको थियो । विश्वविद्यालयले यसका लागि आवश्यक पर्ने सामग्रीहरू तीन महिनाको समय लगाएर दक्षिण कोरियाबाट भित्र्याएको थियो ।
अब सो स्टेसनबाट यहाँकै विद्युत र पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन हुने भएको हो । यसका लागि कोरिया र जर्मनीबाट आएका प्राविधिक टोलीसँग विश्वविद्यालयले परीक्षणको काम गरिरहेको छ । यदि यो स्टेसन सफल भए हाइड्रोजनमा नेपालले नयाँ उचाइ लिने विश्वास गरिएको छ ।























































