मेचीनगर । अनुहारमा मासु पलाएर उपचारका क्रममा रहेका पत्रकार सञ्जय भट्टराईको उपचारमा सहयाेग गर्न अपिल गरेका छन् ।

इलामको सूर्योदय–७ स्थित गोगने घर भएका २३ वर्षीय भट्टराई झापा अर्जुनधारा नगरपालिकाको मेरो रेडियोमा समाचार बाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् ।

बिर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गर्दैआएका भट्टराईको दाहिने गाला, कान र चिउडोमा मासुको ठूलो लुर्को पलाएको छ ।

उनकाे मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको छ ।

मासु पलाउने समस्या जन्मजात भएको बताउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र बिर्तामोडको बीएन्डसी अस्पतालमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताए । उपचारका लागि आर्थिक अभाव भएको उनले बताए ।

अरु मान्छे जस्तै हुन इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन् ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँच्नु भएको उनको बुवाआमा कृषक छन् भने एउटा भाई वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।