धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट मिनी ट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
सब्जी बोक्ने मिनी ट्रकमा लागु औषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार राती बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनी ट्रकलाई चेकजाँच गरेका थिए ।
गाडीमा लोड भएको सब्जीको बोराभित्र प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।






















































